तिलोत्तमा नगरपालिकाले दिवा खाजा कार्यक्रममै करिब ८२ लाख रुपैयाँको अनियमितता
तिलोत्तमा नगरपालिकाको बेथिति
तिलोत्तमा नगरपालिका अन्तर्गत विद्यालयहरूमा सञ्चालन हुँदै आएको दिवा खाजा कार्यक्रममा ठूलो मात्रामा अनियमितता भएको तथ्य सार्वजनिक भएको छ। कार्यक्रम कार्यान्वयन निर्देशन पुस्तिका २०७८ अनुसार विद्यार्थीलाई पौष्टिक खाना उपलब्ध गराउनुपर्ने व्यवस्था भए पनि सोही पुस्तिकामा तोकिएको मापदण्डअनुसार खर्च तथा व्यवस्था नभएको पाइएको हो।
विद्यालयका शिक्षक, कर्मचारी र अभिभावकसँग समन्वय गरी छात्र–छात्रालाई स्थानीय उत्पादनमा आधारित खाजा उपलब्ध गराउनुपर्ने व्यवस्था छ। तर, नगरका विभिन्न विद्यालयमा विद्यार्थी संख्या, खाजा वितरण, परिमाण तथा लागत विवरणमा गम्भीर त्रुटि देखिएको छ।
अन्तरिक परीक्षण तथा कागजात समीक्षा गर्दा विद्यार्थी संख्याभन्दा बढी खर्च देखाइएको र खाजा प्रदान गरेको विवरण वास्तविकतासँग मेल नखाने जस्ता अनियमितता भेटिएका छन्। यही क्रममा रु. ८२,०६,१४५ बराबरको खर्च अनियमित रूपमा देखिएको निष्कर्ष उल्लेख गरिएको छ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तोकेको १५ देखि २५ रुपैयाँ प्रतिविद्यार्थीको खाजा खर्च सीमा नाघिएको, कतिपय विद्यालयमा तोकिएको समयमा खाजा नदिएको, अभिलेखहरू अपूर्ण रहेको र व्यवस्थापन समितिको प्रभावकारी अनुगमन नहुँदा आर्थिक अनियमितता बढेको देखिन्छ।
स्थानीय तहका सरोकारवाला, अभिभावक तथा जनप्रतिनिधिहरूले तत्काल सुधारात्मक कदम चाल्न, स्पष्ट मापदण्डअनुसार खाजा वितरण सुनिश्चित गर्न तथा अनियमिततामा संलग्नलाई कारबाही गर्न माग गरेका छन्।







प्रतिकृया दिनुहोस